सर्लाही । सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका–१२, बथाने बस्ने कुमार वि.क. का छोरा चार वर्षीय सलिन वि.क.को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
आइतबार राति सानिआमा कल्पना वि.क. सँग सुतेका सलिन राति ११ बजेतिर एक्कासि रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका–१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको थियो । बालकको बाटोमा नै मृत्यु भएको हो । बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले डसेको स्थानीयले बताएका छन् ।
मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ । गर्मी अत्यधिक बढ्दा उपचार केन्द्रमा अहिले सर्पदंशका बिरामीको चाप बढिरहेको छ ।
केन्द्रमा दैनिक चार पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन् । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।




