रौतहट । रौतहटको बौधीमाई नगर क्षेत्रमा करेन्ट लागेर गएराति २ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई ५ को पवा गाउँका वर्ष २५ का अरुण साह र वर्ष २६ को सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो । करेन्ट लागेका साहलाई सँगै रहेका पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए ।
तत्काल दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले दुवै जनालाई मृत घोषणा गरेको डिएसपी यादवले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




