महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ । जनकपुरधामस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव कुटिएका हुन् ।
जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा बिहिबार राति करिब १० बजे कुटिएको घटना बाहिरिएको हो । बिहिबार रातिको घटना प्रहरीले लुकाउन खोजे पनि ढिला गरी बाहिरिएको हो । यादवको हाल उपचार भइरहेको छ ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार बिहिबार अचानक हो–हल्ला सुनिएपछि घर बाहिर निस्किँदा रगतमा लतपतिएको अवस्थामा डीएसपी यादव भेटिएका थिए । उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेका थिए ।
त्यसपछि उनलाई ट्राफिक प्रहरीले उठाएर प्रादेशिक अस्पताल पुर्याएका थिए । हो–हल्ला भएपछि घटनास्थल भन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेका थिए । घाइते यादवको खुट्टा भाँचिएको छ ।
घटना रहस्यमय भएकाले प्रहरीले लुकाउन खोजेका थिए । तर बाहिरिएपछि प्रहरीले औपचारिक रुपमा छानविन तथा अनुसन्धान थालेको छ । डीएसपी यादव केही महिना अगाडि महोत्तरीबाट सुरुवा भई धुनषा जनकपुर आएका थिए ।




