बारा । बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन् । बालक महेन्द्र राजमार्ग अन्तर्गत बारा रौतहट सडक खण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
जनकपुर बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ । बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ । बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।




