सिमरा । बारा र रौतहटको सिमानमा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई पनि प्रहरीले बुधबार बिहान बेवारिसे अवस्थामा फेला पारेको छ । बच्चा फेला परेको स्थान नजिक रोएर हिंडिरहेको अवस्थामा प्रहरीले चार महिने शिशुको आमालाई उद्धार गरेको हो ।
जंगलको बीचमा पर्ने सडकमा महिला रोएर हिडिरहेको खबर पाएपछि पुगेको ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले महिलालाई उद्धार गरी कार्यालय ल्याएको हो । प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी हुन् । महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमान्ले आफूसहित शिशुलाई ल्याएर जंगलमा छाडेको बयान दिएकी छिन् ।
श्रीमानले आफूलाई र शिशुलाई छुट्टाछुट्टै स्थानमा छोडेको बताइन् । पानीले भिजेको अवस्थामा फेला परेकी महिलाको शारीरिक र मानसिक अवस्था कमजोर देखिएको छ । श्रीमानले जंगलको बीचमा छाडेर हिडेपछि महिला आफ्नो सन्तान खोज्दै हिडेको अवस्थामा फेला परेका हुन् ।
महिलाले दिएको जानकारी अनुसार प्रहरीले उनको माइती पक्षलाई खबर गरेको छ । उद्धार गरिएकी महिलालाई प्रहरीले मंगलबार फेला परेको शिशुको तस्विर देखाएपछि उनि रुन थालेकी थिईन् । उनले आफ्नो छोरालाई भेटाईदिन प्रहरीलाई आग्रह गरेकी थिईन् । प्रहरीका अनुसार महिलाको माईती पक्ष आएपछि बच्चाको आधिकारिकता पुष्टि हुने र परिवारको जिम्मा लगाईने छ ।
पुल नजिकको सडकबाट उद्धार गरिएको शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । सडकबाट उद्धार गरे लगत्तै अस्पताल लगिएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।




