रौतहट । राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरेको हो ।
निलम्बन पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवारलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिप चालक रौतहटका सिकन्दर पटेलसित जवान यादवले हर्षाह र ट्राफिक कलवारले कर्मैयामा रोकेर एक एक सय लुकाएर लिएको भिडियोमा प्रष्ट देखिएको छ । चालक पटेल दुवै प्रहरीले आफूलाई माल सामान बोकेर जाँदा धेरै दुख दिएको बताउँछन् ।




