वीरगंज । वीरगंज महानगरपालिकास्थित जगरनाथपुरदेखि मिलन चोकसम्मको सडकमा गरिएको कालोपत्रे एक हप्तामै उक्किएको छ । ९ किलोमिटरसम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी शारदा अमित निर्माण सेवाले हतार हतार कालोपत्रे गर्दा एक हप्ता पनि टिक्न नसकेको हो ।
०७९/८० को अन्तिम महिना असारमा ठेकेदार कम्पनीले उक्त सडकखण्डमा कालोपत्रे गरेको थियो । ठेकेदार कम्पनीले ३ करोड ४० लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का साकार गरेको थियो ।
आर्थिक वर्षको अन्तिम महिना भएकाले भुक्तानी पाउनका लागि ठेकेदारले फटाफट दिन रात लगाएर काम गरेको थियो । तर, ठेकेदारले गरेको काम भने असारे विकासको नमुनाका रुपमा परिणत भयो ।
महानगरको वडा नम्बर ३१ मिलन चोक र वडा नम्बर ३० लालपर्सा चोकदेखि जगरनाथपुरसम्म कालोपत्रे उक्किएको स्थानियले बताएका छन् । कालोपत्रेका नाममा बजेट पचाउने काम मात्रै भएको स्थानिय बताउँछन् ।




