सलार्ही । वडा अध्यक्ष र स्थानीयको मिलेमतोमा जग्गा हडप्ने प्रयास भएको खबर प्रकाशित भएपछि विद्यालय एवम् वडा अध्यक्षले आपत्ती जनाएका छन् । सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता माविको जमिन स्थानीय तह र स्थानीयको मिलेमतोमा हडप्ने प्रयास भएको भन्दै कमलामाई खबरले समाचार प्रकाशित गरेको थियो ।
महादेव जनता माविको नम्बरी १ बिघा ८ कठ्ठा जमिनसँग सिमाना जोडिएको विद्यालयले लामो समयदेखि भोगचलन गरि रहेको विद्यालयको स्वामीत्वमा रहेको ऐलानी जमिन हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना र स्थानीय गेहेन्द्र सुवेदीको मिलेमतोमा हडप्ने प्रयास भएको समाचार प्रकाशित भएको थियो ।
यस विषयमा वडा अध्यक्ष प्रज्वल ढुंगानाले आपत्ती जनाएका छन् । उनले झुटको खेती गर्ने विरुद्ध कानुनी उपचारमा पनि जाने बताएका छन् । उनी भन्छन्- “यस्ता धेरै प्रक्रिया बाकी हुँदा हुँदै झुटको खेती गर्ने विरुद्ध कानुनी उपचार त गरौंला । वडा अध्यक्षको काम जे सत्य हो त्यो गर्नैपर्छ । जग्गा भोगचलन, जोतभोग २०४५/५०/५५/६० वर्ष देखि भोग्दै आएकोलाई सिफारिस दिनुपर्ने भएकोले वडाले सिफारिस दिएको हो ।”
यसैगरि समाचारका सम्बन्धमा विद्यालयले पनि आपत्ती जनाएको छ । सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता माविले सूचना जारी गर्दै प्रकाशित समाचार प्रति आपत्ती जनाएको छ । विद्यालयका प्रधानाध्यापक जय शंकर सिंहले ठेक्काको तिथि मिति र ठेक्का कसले लिनु भएको भन्ने प्रश्नमा मैले रेकर्ड हेर्नूपर्छ भनेको बताएका छन् । यस्तै विद्यालयले गरेको काम कारवाही बुझ्नु पर्ने अवस्थामा जिम्मेवारी व्यक्तीसँग बुझ्न अनुरोध गरेका छन् ।

यसै विषयलाई लिएर सामाजिक संजालमा पत्रकार विरुद्द आक्रोश पैदा भएको छ । समाचार प्रकाशित पश्चात एन्जेल चौहान भन्छन्- “यो S.P. भन्ने मान्छे पत्रकारको नाममा कलङ्क हो कि के हो ? आफ्नो व्याक्तिगत स्वार्थ पूरा भएन भनेर हाम्रो हरिवन नगरपालिकाका अभिभावक आदर्णीय प्रज्वल दाइको बारेमा आफ्नोे स्वार्थ पुरा भएन भनेर जे लेखे पनि हुन्छ भन्ने सोच त्याग्नु होला । प्रज्वल नाम नै काफी छ सर्लाहीमा यति कुरा चाहिँ बुझ्नु होला ।”
यस्तै प्रिया राई धिताल भन्छन्- “एक कप चिया बाटो हिड्नेलाइ पनि खुवाइन्छ । त्यो एक कप चियाको भरमा नबिक्नुस किन कि सायद एक कप चिया नै तपाइको मुल्य छैन होला । तपाइको हुन सक्ला तर त्यो कलमको त छैन होला नि । त्यो कलमको र पदको इज्जत गर्नुस हजुर । लेख्नु नै हुन्छ भने भ्रस्टचारिको लख्नुस जो जनप्रतिनिधिले काम गरेको छैन उहाको लेख्ने सामर्थय गर्नुस ।”
यस्तै महेश थापाले समेत आक्रोश पोखेका छन् । उनी भन्छन्- “बिना आधार, बिना प्रमाण कसैको चरित्र हत्या गर्न कदापि पाइँदैन । सत्य तथ्य बुझेर मात्र समाचार लेख्नु होला पत्रकार महोदय । यो कस्तो पत्रकारिता हो ??”




