महोत्तरी । महोत्तरीको बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्लो ५/६ दिनयता ८० जना विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ ।
ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेंगु सक्रंमणको पुष्टि भएको छ । एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबै जसो विद्यार्थीमा समान लक्षण पाइएको छ ।
बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए तापनि अझै कतिपयमा डेंगु संक्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ रहेको छ ।




