सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आदेश हटाइएको छ । आइतबार बिहान ८ बजेदेखि कर्फ्यु आदेश हटाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार कर्फ्यु आदेश हटाइएपनि निषेधाज्ञा भने जारी गरिएको छ । सम्भावित घटना हुन नदिन स्थानीय प्रशासनले ७२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञामा भेला, जुलुस, धर्ना, आमसभा लगायत कार्यक्रम गर्न नपाइने कार्यालयले जनाएको छ । शुक्रबार साँझ जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा अशान्त बनेको थियो ।
सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप तथा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
विवाद ढुङ्गा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको थियो । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका थिए ।





