वीरगंज । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव उत्पन्न भएको छ । मंगलबार साँझ वीरगंग महानगरपालिका ४ विर्तामा रहेको बाल सुधार गृहमा दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुर सुधार गृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीँ रहेको समूहबीच मंगलबार साँझ झगडा भएको थियो । दुई समूहको झगडाले सुधारगृह भित्र स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो । तर, उनीहरू प्रहरीमाथी नै ढुंगामुढामा उत्रिएका थिए ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुधार गृहका ११ जना र तीन प्रहरी घाइते भएका छन् । भक्तपुर बाल सुधार गृह तोडफोड गरी भागेका मध्ये १८ जनालाई वीरगंज स्थानान्तरण गरिएको थियो । अहिले सो सुधारगृहमा १५७ जना बालबालिका रहेका छन् ।




