वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । गाउँपालिकाको गर्दौल माविका विद्यार्थी र प्रहरी बीच आइतबार दिउँसो झडप भएको हो ।
गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थी गाउँपालिकाको कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीसँग झडप भएको हो । झडपमा आधा दर्जन विद्यार्थी घाइते भएका छन् ।
गर्दौल माध्यमिक विद्यालयका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा बहुअर्वामा राम्रो पठन पाठन नभएको गुनासोसहित विद्यार्थीहरु कार्यालय घेराउ गर्न गएका थिए ।
कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । अहिले गाउँपालिका कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।




