सर्लाही । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा सर्लाहीमा दीप प्रज्वलन गरिएको छ । नेपाल स्वयंसेवक संघ कविलासी नगर कमिटीले कविलासी ३ मदनपुरमा दीप प्रज्वलन गरेको हो ।
हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना इजरायल गएका थिए ।
यस्तै त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरूको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ ।




