सर्लाही । सर्लाहीको बरहथवामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । जंगली जनाबरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर बरहथवा नगरपालिका १४, बिन टोलका ५० वर्षीय शिवजी साह तेलीको मृत्यु भएको हो ।
मंगलबार राति शौच गर्न घर छेउको बारीमा पुग्दा करेन्ट लागेर तेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तेलीको घर नजिकै स्थानीय नरेश साहले जंगली जनाबरबाट बाली जोगाउन विद्युतीय पासो थापेका थिए ।
विद्युतीय पासोमा परेर छिमेकीको मृत्यु भएपछि नरेश फरार छन् । उनको १९ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ ।




