काठमाडौं । नेपाल टेलिकमलाई अधिकांश नेपालीहरुले भरपर्दो र विश्वासिलो दूरसञ्चार सेवाको रुपमा लिने गरेका छन् । टेलिकमले पनि समय अनुसार आफूलाई परिमार्जित गरेर सञ्चारको क्षेत्रमा विभिन्न सुविधाहरु दिँदै आएको छ ।
सुरुमा सीडीएमएको सिम कार्ड वितरण गरेर नेपालका दूरदराजदेखि कुनाकाप्चासम्म सञ्चार सेवा उपलब्ध गराउने गरेको थियो । देशका दूरदराजमा सजिलै सम्पर्क हुने सीडीएमए सिम कार्ड अहिने बन्द अवस्थामा रहेको छ ।
सिम कार्ड वितरणसँगै त्यसको प्राविधिक पक्ष भरपर्दो र बलियो बनाउन नसक्दा त्यत्तिकै अलपत्र अवस्थामा थन्किन पुगेको छ । सीडीएमए मोबाइलको सिम कार्ड र सेटमा उपभोक्ताले गरेको खर्च पनि त्यसै खेरा गएको छ ।
पोस्पेड र प्रिपेड मोबाइलले केही बजार लिए तापनि भरपर्दो र विश्वासिलो छैन । त्यसकारण पनि प्रयोगकर्ताहरुले त्यसको विकल्पमा अन्य प्राइभेट कम्पनीहरुको मोबाइल चलाउन वाध्य बनेका छन् । टेलिकमको लापरबाहीका कारण ल्याण्डलाइन फोन त अधिकांशले प्रयोग गर्नै छाडिसकेका छन् ।
यस्तै फाइबर लाइन वितरण गर्दा इन्टरनेटको पनि सुविधा उपलब्ध गराउने नाममा कमसल खालको वितरण गरिएको छ । अधिकांश टेलिकमका इन्टरनेटहरु समयमा नचल्ने, चलिहाले पनि अत्यन्तै स्लो हुने र बीच बीचमा काटिने गरेकाले प्रयोगकर्ताहरु हैरानीमा पर्ने गरेका छन् ।
अहिले फाइबर लाइनको एक हजार पर्ने तारलाई एक लाख रुपैयाँसम्मको टेण्डर गरेर कर्मचारीहरुले कमिसन खाने गरेका छन् । टेलिफोन र इन्टरनेट बिग्रिएको खण्डमा मर्मत संभारको लागि पटक पटक आग्रह गर्दा पनि समयमा सेवा उपलब्ध हुँदैन ।
टेलिकमको सेवा चुस्त, दुरुस्त र भरपर्दो नभएपछि त्यसको विकल्पमा अधिकांश उपभोक्ताहरु प्राइभेट इन्टरनेट र टेलिफोन सेवा लिन वाध्य भएका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको सबैभन्दा पुरानो दूरसञ्चार सेवा नेपाल टेलिकम दलहरुले राजनीतिक भर्तीकेन्द्र बनाउँदा दिन प्रतिदिन धरासायी बन्दै गएको छ ।
नेपाल टेलिकमभित्रको भ्रष्टाचारले गर्दा सञ्चार क्षेत्र नै बदनाम हुँदै गएको छ । टेलिकममा सेवाप्रवाहसँगै नयाँ बिलिङ मेसिन खरिद गर्ने भनेर त्यो नगरी पुरानै बिलिङ मेसिन मर्मत गरी सञ्चालनमा ल्याउने खेलमा करोडौं भ्रष्टाचार गरेको आरोपमा तत्कालीन महाप्रवन्धक सुनिल पौडेलविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेपछि सुनिल पौडेल निलम्बनमा परेका छन् । त्यसअगाडिकी तत्कालीन महाप्रवन्धक कामिनी राजभण्डारीले पनि फाइबर लाइन बिछ्याउने नाममा आठ अर्ब खर्च लाग्नेमा १८ अर्ब भ्रष्टाचार गरेको आरोप लागेको थियो ।
कामिनी राजभण्डारीलाई भ्रष्टाचार गरेको आरोप लागे तापनि सो मुद्दा तामेलिमै राखेर गुपचुप पारिएको छ । इमानदार, सिनियर र बफादार कर्मचारीहरुलाई बाइपास गरी सरकार फेरिएपिच्छे राजनीतिक आडमा भ्रष्ट र जुनियर कर्मचारीहरुलाई महाप्रवन्धक बनाउँदा टेलिकम दिन प्रतिदिन धरासायी बन्दै गएको छ ।
तत्कालीन महाप्रवन्धक सुनिल पौडल भ्रष्टाचारमा मुछिएर निलम्बनमा परेपछि संगीता पहाडीले कायममुकाय महाप्रवन्धकको जिम्मेवारी पाएकी छिन् । त्यसमा पनि ठूलै राजनीतिक चलखेल भएको गन्ध आभास हुन्छ । पहाडीले कामु महाप्रवन्धकको जिम्मेवारी पाइरहँदा उनीभन्दा वरिष्ठ तीन जना मिनु प्रधान, राधाकृष्ण ढुंगेल र विनिता डंगोल पछि परेका छन् ।
तर, सरकारले कामुको जिम्मेवारी दिएकी पहाडी लगायत चार जना मध्येमा कसलाई भावी महाप्रवन्धक बनाउने हो एकिन छैन । तर टेलिकमभित्र महाप्रवन्धक बन्नको लागि पहिल्यैदेखि लभिङ गर्ने र राजनीतिक दलका नेताहरुसँग हारगुहार गरी करोडौं खर्च गर्ने प्रचलन छ ।
यी चारजनामध्ये जसले बढी खर्च गर्न सक्छ उही महाप्रवन्धक बन्ने देखिन्छ । नेपाल टेलिकमको महाप्रवन्धक बन्नको लागि विभिन्न कर्मचारीहरु खेलोफड्को गरिरहेका छन् । भ्रष्टाचारको अखडा बन्दै गएको नेपाल टेलिकमको महाप्रवन्धक बन्नका लागि अहिले विभिन्न व्यक्तिहरु शक्तिकेन्द्र धाउन थालेका छन् ।
तर, सरकारले कसलाई महाप्रवन्धक बनाउछ त्यो भने अहिलेसम्म एकिन भइसकेको छैन । नेपाल सरकारको स्वामित्वमा रहेका अधिकांश संस्थानहरु राजनीतिक भर्ती बनाउने र कर्मचारीको भ्रष्टाचारका कारण बन्द भइसकेका छन् । बाँकी रहेको बलियो र भरपर्दो संस्था नेपाल टेलिकम पनि भोलिका दिनमा बन्द नहोला भन्न सकिँदैन ।
नेपाल टेलिकम अधिराज्यभरि विस्तार भए तापनि सो कार्यालयमा कार्यरत कर्मचारीहरुले मनोमानी ढंगले भ्रष्टाचार र अनियमितता गर्दा यो अवस्थामा आइपुगेको छ । शाखा कार्यालयका प्रमुखहरुको लापरबाहीले गर्दा टेलिकमको सेवा दिन प्रतिदिन खस्किँदै गएको जो कोहिले सहजै महसुस गर्न सक्छन् ।






