धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा बिहिबार जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालनी गर्ने बताए ।
उनले अनियमितताको अनुसन्धान गर्ने क्रममा प्रदेश सरकारको सय प्रतिशत सहयोग रहने उल्लेख गरे । अनियमितताको घटनामा छानबीन गरेर कारबाई गर्ने बताउँदै उनले आगामी आर्थिक वर्षमा ससाना योजना र उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगरिने बताए ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सामूहिकरूपमैं सुशासन कायम हुन सक्ने उल्लेख गरे । उनले सुशासनको पहिलो बिगुल सङ्घ, प्रदेश र स्थानीय सरकारले फुक्नु पर्ने आवश्यकता औंल्याए । उनले उपभोक्ता समितिमा ठूलो विकृति आएको चर्चा गर्दै उपभोक्ता समिति बिचौलियाका रूपमा देखिएको धारणा राखे ।
उनले भने– “घर बनाउने, ढलान गर्ने, पुल बनाउनेजस्ता काम कुन क्षमताका अनुसार उपभोक्ता समितिलाई दिइएको हो, यसबारे सोच्नुपर्दछ ।” प्रमुख आयुक्त राईले भने– नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेट्ने खालको हुनुपर्ने र यसलाई परिभाषित गर्न सङ्घीय सरकारलाई आग्रह गरेको स्पष्ट पारे ।
कार्यक्रममा मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे, अख्तियारका बर्दिवास प्रमुख रामबहादुर कुरूम्वाङ र अख्तियारका सहसचिव लक्ष्मीप्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण तथा सुशासन बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशका मन्त्रीहरू, स्थानीय निकायका प्रमुख, उपप्रमुख, कर्मचारी लगायतको उपस्थिति थियो । रासस






