काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ ।
जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठ जना मन्त्री दुई जना राज्यमन्त्री हुने बताइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।
बिहिबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा अोलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए ।
आफूले माग गरे अनुसार गृह मन्त्रालय नदिने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ । तर, हालसम्म यस विषयमा कुरा मिलेको छैन । मन्त्रालयमा कुरा मिले आजै साँझसम्म सपथ लिने तयारी समेत गरिएको छ ।






