कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई बिहीबार पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
साउन ३ गते पोखरा २ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताएका थिए ।
त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिइ फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताए ।
रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीले निस्कासन गरेको थियो । थापामगर रोल्पाको त्रिवेणी गाउँपालिका ७ घर भई हाल पोखरा-४ नालामुख बस्दै आएका छन् ।




