एजेन्सी । आजभोलि छोटो लुगा नलगाउने युवती कमै भेटिन्छन् । शरीर ढाक्ने लुगा लगाउनुपर्ने संस्कृति भएको नेपाल, भारतजस्ता देशका विकट ठाउँका महिलाहरुले समेत आधा शरीर ढाक्ने कपडा लगाएर हिँड्न थालेका छन् ।
महिलाले यसलाई स्वतन्त्रताको रुपमा लिने गरेका छन् । तर अमेरिका जस्तो विकसित देशमा कपडालाई लिएर एक अनौठो घटना घटेको छ । अमेरिकामा एकजना टर्किस मोडेललाई जहाज चढ्नमा प्रतिबन्ध लगाइएको छ ।
शरीरमा निकै कम मात्र अर्थात् छाेटाे कपडा लगाएको र त्यस्तो पहिरनले जहाजमा चढेका अन्य यात्रुहरुलाई डिस्टर्ब गर्न सक्ने भन्दै टर्किस बडी विल्डर, सोसल मिडिया सेलिब्रेटी तथा मोडेल डेनिज सेपिनारलाई जहाज यात्रामा रोक लगाइएको हो । अमेरिकन एयरलाइन्सको उडान नियम अनुसार उडान यात्राका क्रममा यात्रुहरुले ठीक तरिकाले पोषाक लगाउनु आवश्यक हुन्छ ।
आपत्तिजनक कपडा वा खाली खुट्टा जहाज चढ्न पाइँदैन । गत जुलाई ८ मा टेक्सासबाट मियामीका लागि अमेरिकन एयरलाइन्सको जहाजमार्फत् यात्रा गर्न लागेकी सेपिनारले सरीरमा छोटो जाँगे र छोटो टप्स लगाएकी थिइन् । आफूलाई पहिरनकै आधारमा अपमानित गरी जहाजमा चढ्नै रोक लगाइएको विषयमा सेपिनारले सोसल मिडियामा आक्रोश व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘म डेनिम शर्टस् लगाएकै कारण संसारकै सबैभन्दा खराब व्यक्तिकै रुपमा व्यवहार गरिनुपर्ने व्यक्ति होइन । मैले अपमानित महसुस गरिरहेकी छु । उनीहरुले मलाई जहाज चढ्न दिएनन् किनकी मैले यो जाँगे अमेरिकामा लगाएकी थिएँ ।’
उनले इन्स्टाग्राममा अमेरिकी एयरल्यान्सलाई ट्याग गर्दै अर्को पोस्ट पनि गरिन् जसमा लेखिएको थियो, ‘म एक खेलाडी हुँ र अब मलाई बिहानसम्म यहीँ पर्खिनुपर्ने भयो । मलाई यस्तो महिलामैत्री कपडा लगाउन मन पर्दछ जसले मेरो महिलापन देखाओस् । तर मैले कहिल्यैपनि यस्तो खाले कपडा लगाउँदिन जसले अरु कसैलाई ठेस पुगोस् ।’
उनले आफ्ना फलोअर्सलाई सम्बोधन गर्दै आफूले अभद्र पहिरन नलगाएको दाबी गरेकी छिन् । शारीरिक सुगठनकी खेलाडी अर्थात् बडी विल्डर सेपिनार अन्तराष्ट्रिय बडी विल्डर महासंघबाट मान्यता पाउने एकमात्र टर्किस महिला बडी विल्डर हुन् ।






