काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ । दशैंपछिको कारोबारमा निरन्तर बढिरहेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।
सोमबार प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज एक तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यसँगै चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा त्यसको प्रभाव परेको विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स करिब २ हजार ७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको छ ।




