वीरगंज । वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व चालू आवको पाँच महीनामा गत आवको सोही अवधिको तुलनामा कम सङ्कलन भएको छ । राजस्व महाशाखाका अनुसार, २०८०/८१ को साउन-मङ्सिरसम्म रु २१ करोड ९९ लाख ९६ हजार ४४२ सङ्कलन भएकोमा चालू आवको मङ्सिर मसान्तसम्म यो सङ्कलन घटेर रु १९ करोड ९१ लाख १६ हजार ५६६ पुगेको छ ।
राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार, चालू आवको मङ्सिर मसान्तसम्म सम्पत्तिकरमा रु आठ करोड ८२ लाख १८ हजार सङ्कलन भएको छ । गत आवमा यसमा रु आठ करोड ७२ लाख ८२ हजार ३९३ सङ्कलन भएको थियो ।
यसैगरी, अन्य प्रमुख करहरूमध्ये भूमि/मालपोत कर रु ४७ लाख ४७ हजार ८८०, घरबहाल कर रु दुई करोड ४५ लाख ४४ हजार १०८ र सवारीसाधन कर रु छ लाख चार हजार सङ्कलन भएको जानकारी दिइएको छ ।
राजस्व महाशाखा प्रमुख कर्णका अनुसार, चालू आवको कात्तिक महिनासम्म राजस्व सङ्कलन गत आवको सोही अवधिको तुलनामा ६४ लाख ८४ हजार कम भएको थियो, तर मङ्सिर महिनासम्म यो अन्तर झन् बढेर करीब दुई करोड आठ लाख पुगेको छ ।




