गुजरात । ‘कुखुरा पहिले कि अण्डा आयो ?’ भन्ने बहस पुरानो भइसक्यो । अब नयाँ बहस सुरु भएको छ- कुखुरा जनावर हो कि चरा ? यो विषय सामाजिक सञ्जालमा बारम्बार उठ्ने गर्छ । तर, यस पटक यो बहस अदालतसम्मै पुगेको छ । भारतको गुजरात उच्च अदालतमा कुखुरालाई जनावरको श्रेणीमा राख्नुपर्छ कि पर्दैन भन्ने विषयमा मुद्दा दायर भएको छ ।
कसरी सुरु भयो बहस ?
सन् २०२३ मा एनिमल वेलफेयर फाउन्डेसन र अहिंसा महासंघले उच्च अदालतमा एक याचिका दायर गरे । निवेदनमा कुखुरा पसलमा कुखुरा काट्न प्रतिबन्ध लगाउनु पर्ने माग गरिएको थियो ।
उनीहरूले वधशालामा मात्र कुखुरा मार्नुपर्ने व्यवस्था गर्नुपर्ने दाबी गरे । यस मुद्दापछि राज्यभरका स्थानीय निकायले मासु पसलहरूको निरीक्षणसमेत गरेका थिए ।न्यायाधीश एनवी अन्जारिया र निरल मेहताको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरेको थियो ।
सरकारको धारणा : कुखुरा जनावर नै हो
सरकारी वकिल मनिषा लवकुमारले अदालतसमक्ष तर्क प्रस्तुत गर्दै कुखुरालाई पशु वर्गमा राखिएको कानुनी प्रावधान रहेको स्पष्ट गरिन् । उनका अनुसार, भारतीय खाद्य तथा सुरक्षा मापदण्ड ऐनअनुसार कुखुरा जनावर हो, चरा होइन । यसैले कुखुरा काट्ने कानुनी प्रक्रिया उल्लंघन भएको छैन ।
यसअघि अदालतले गुजरात सरकारसँग यस विषयमा राय मागेको थियो । सरकारले पनि कुखुरा जनावरकै श्रेणीमा पर्ने स्पष्ट गर्दै यसको वैज्ञानिक आधारसमेत उल्लेख गरेको थियो।
वैज्ञानिक दृष्टिकोण : कुखुरा जनावर कि चरा ?
वैज्ञानिक वर्गीकरण अनुसार, कुखुरा जनावर पनि हो र चरा पनि ।
✔ जनावरको राज्य (Animalia) मा पर्छ – कुखुरा बिरुवा, कवक वा सूक्ष्म जीव होइन, त्यसैले यो पशु राज्यमा पर्दछ ।
✔ पन्छी वर्ग (Aves) मा पर्छ – पखेटा भएका, उड्ने वा नउड्ने तर अण्डा दिने जीवहरू पन्छी (चरा) समूहमा पर्छन् ।
यसरी वैज्ञानिक रूपमा कुखुरा जनावर पनि हो र चरा पनि । तर कानुनी परिभाषा अनुसार यसलाई जनावरकै श्रेणीमा राखिन्छ । उपलब्ध प्रमाणका आधारमा, कुखुरा सबैभन्दा पहिले जनावर हो किनभने यसलाई पशु वर्गमा राखिएको छ । त्यसपछि मात्र यसलाई पन्छी (Aves) को उपवर्गमा समावेश गरिएको हो । अदालतको फैसलाले यस विषयमा अझ स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।






