काठमाडौं । पत्रकारितामा छोटो समयमा नै धेरै दर्शकहरूको विश्वास जित्न सफल खोज समाचार डट कमका सञ्चालक रोशन श्रेष्ठले आफ्नै नामको मोबाइल एप्लिकेशन लन्च गरेका छन् । डिजिटल युगमा पत्रकारितालाई अझ प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याइएको यस एपमा आम नागरिकका समस्यालाई विशेष रूपमा सम्बोधन गर्ने प्रयास गरिएको छ ।
हाल नेपालमा वैदेशिक रोजगारीका नाममा नक्कली भिसा तथा वर्क परमिट देखाएर युवाहरूलाई योजनाबद्ध रूपमा ठगी गर्ने गिरोह सक्रिय रहेको छ । विभिन्न देशका भिसा, वर्क परमिट तथा अफर लेटर सक्कली वा नक्कली हो भनेर अनलाइनमार्फत जाँच गर्न सकिने सुविधा उपलब्ध भएपनि कम शिक्षित अधिकांश युवाहरूलाई यस्ता प्रक्रिया बारे जानकारी नहुनाले ठगिको शिकार बन्ने गरेका छन् ।
यस समस्यालाई मध्यनजर गर्दै रोशन श्रेष्ठले हाल १८ देशका भिसा र वर्क परमिट सक्कली वा नक्कली छ भनेर सजिलै जाँच गर्न सकिने सुविधा एपमा समावेश गरेका छन् । साथै, उनले आगामी दिनमा अन्य देशहरू पनि थप्दै जाने बताएका छन् ।
अन्य विशेष सुविधाहरू
एप चलाउन वा भिसा चेक गर्न कठिनाइ भए, कसरी चेक गर्ने भनेर एक विशेष भिडियो पनि समावेश गरिएको छ । साथै, एपभित्रै श्रेष्ठसँग प्रत्यक्ष कुराकानी गर्न मिल्ने सुविधा राखिएको छ ।
यस एपमा सम्बन्धित देशले उपलब्ध गराएका आधिकारिक भिसा तथा वर्क परमिट जाँच गर्ने लिङ्कहरू राखी आम नागरिकलाई सजिलो बनाइएको छ । साथै, नेपाली पात्रो, मिति परिवर्तनजस्ता अन्य उपयोगी सेवाहरू पनि एपमा उपलब्ध छन् ।
यस बाहेक, एपमा फेसबुक मोनेटाइजेसनसम्बन्धी निःशुल्क सिकाइ सिरिज पनि समावेश गरिएको छ, जसमा प्रयोगकर्ताले सरल र सहज रूपमा जानकारी लिन सक्छन् ।
समाचार र भिडियो पनि हेर्न सकिने
एपभित्र रोशन श्रेष्ठले तयार पारेका विभिन्न भिडियो समाचारहरू तथा अन्य समाचार सामाग्रीहरू पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ । एप लन्च भएको एक महिनाभित्रै प्ले स्टोरमा ३७ हजारभन्दा बढी डाउनलोड भइसकेको छ भने एप्पल स्टोरमा पनि उपलब्ध छ ।
भविष्यमा यस एप मार्फत विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि छुट्टै व्यवस्था ल्याउने तथा अन्य धेरै सेवा सुविधाहरू थप्दै जाने योजना रहेको श्रेष्ठ बताउँछन् ।






