काठमाडौं । देशभरका २६ जिल्लामध्ये सबैभन्दा बढी गरिब घर परिवार बाजुरामा रहेको देखिएको छ । सरकारले गरेको एक अध्ययनमा बाजुराका कुल घर परिवारमध्ये ७१.१ प्रतिशत गरिब रहेको देखिएको हो । उक्त अध्ययनका अनुसार जिल्लामा कुल २१ हजार ७११ घर परिवार रहेका छन् । त्यसमध्ये ६ हजार ३९३ अति गरिब घर परिवार पाइएको छ ।
अध्ययन गरिएका जिल्लामध्ये तनहुँमा सबभन्दा कम २१ दशमलव १ प्रतिशत गरिब घर परिवार भेटिएका छन् । तनहुँमा जम्मा ६५ हजार ७३ घर परिवार रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको अध्ययनमा यस्तो देखिएको हो ।
मन्त्रालयले ‘गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम’ सञ्चालन गरेर देशभर गरिबको तथ्याङ्क सङ्कलन गरिरहेको छ । मन्त्रालयले अति गरिब घरपरिवार, मध्यम गरिब घरपरिवार र सामान्य गरिब घर परिवार गरि तीन किसिमले गरिब घर परिवारको पहिचान गरिरहेको छ ।
मन्त्रालयले खोटाङ, भोजपुर, सिरहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, बाजुरा, बझाङ, अछाम र कैलाली जिल्लामा गरिब घर परिवार पहिचान गरेको हो ।






