एजेन्सी । काेराना महामारीले विश्व आक्रान्त बनाउनुसँगै धेरै पाठ पनि सिकाएको छ । मानिसहरुको जीवनशैली तथा जिउने शैली नै परिवर्तन भएको छ । पहिले स्वास्थ्यलाई खासै ध्यान नदिनेहरु पनि अहिले स्वास्थ्यप्रति सचेत हुन थालेका छन्, काेभिडकाे डरले ।
मास्क र सेनिटाइजरकाे प्रयाेग त अब अत्यावश्यक वस्तु जत्तिकै भइसक्याे । चिकित्सकहरू पनि नियमित अन्तरालमा हात सफा गर्ने र सेनिटाइजर प्रयोग गर्ने कुरामा जोड दिन्छन् । सपिङ मल, रेस्टुरेन्ट, कार्यालयदेखि घरमा समेत सबैभन्दा पहिले सेनिटाइजर पाइन्छ ।
२०२० मा जन्मिएकी एक बालिका आफ्नो आसपासका मानिसहरुले पटक-पटक सेनिटाइजर प्रयोग गरिरहेको देख्दै हुर्किइन् । जन्मिनेबित्तिकै देखिरहेको यो कुरा अहिले ती बालिकाको लागि पनि बानी भयो । अब ती बालिका हरेक चीजलाई सेनिटाइजर नै ठान्छिन् । जे चीज देखे पनि उनी पहिले त्यसको अगाडि हात राख्छिन् । त्यसपछि आफ्ना दुबै हातलाई एक आपसमा रगड्न थाल्छिन् ।
अहिले सामाजिक सञ्जालमा उनका यी क्रियाकलाप निकै भाइरल भएकाे छ । भाइरल एक भिडियाेमा यी बालिका ल्याम्प पोस्टदेखि विद्युतीय सर्किटसम्म सबै कुरालाई सेनिटाइजर ठान्छिन् र त्यसको अगाडि हात राख्छिन् । यो भिडियो मानिसहरुले रमाइलो मानेर हेरिरहेका छन् तर अर्कोतर्फ यसले आजको वास्तविकता पनि बोलेको छ ।






