सिरहा । सिरहाको औरही गाउँपालिकाका १ युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले पत्नीलाई आगो लगाई ज्यान लिएको आरोपमा पक्राउ परेका औरही–५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो ।
विनोदले आफ्नी २१ वर्षीया पत्नी अनितालाई आगो लगाई ज्यान लिएको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ ।
गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले पत्नीलाई आगो लगाई ज्यान लिने प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैंले पत्नीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं सिफारिस गरिएको थियो । काठमाडौंको कीर्तिपुर मोडेल अस्पतालमा २ दिनपछि गत माघ १२ गते बिहान अनिताको मृत्यु भएको थियो ।
मृतकका बुवा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोदविरुद्ध किटानी जाहेरी दिएका थिए । माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।






