झापा । झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।
बुधबार साँझ कमल गाउँपालिका ३ स्थित सहिद गेटनजिक पूर्व-पश्चिम राजमार्गमा स्कुल बस, मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा इलाम नगरपालिका ८ की २१ वर्षीया माङकुमारी लिम्बूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार झिलझिलेबाट केर्खातर्फ जाँदै गरेको दमक नगरपालिका ९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१८ प ४८८३ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल सडकमा उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५५४ नम्बरको ट्रकमा ठोक्किएको थियो । त्यसक्रममा मोटरसाइकल ट्रकको दाहिनेपट्टिको चक्कामुनि परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार लिम्बू गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ ७:५० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक इलाम नगरपालिका ८ का २७ वर्षीय पञ्चबहादुर लिम्बूको बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले स्कुल बसका चालक दमक ९ का ३५ वर्षीय अतित लिम्बू र ट्रक चालक मेचीनगर नगरपालिका १४ का ६० वर्षीय गंगाबहादुर भुजेललाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




