सिरहा । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको हो ।
सिरहा नगरपालिका ११ भलुवाहीस्थित सडकखण्डमा बिहान करिब १० बजे नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र स ९ प ७६५० नम्बरको मोटरसाइकलबीच ठक्कर भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएको थियो । तर, चिकित्सकले बिहान १० बजेर २५ मिनेटमा दुवैलाई मृत घोषणा गरेका थिए ।
मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन् । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




