रौतहट । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा रौतहटका व्यापारी तथा व्यवसायीहरू सडकमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रनाथ गोपालीको नेतृत्वमा गौर बजार पूर्ण रूपमा बन्द भएको छ ।
सयौं प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । आन्दोलनले स्थानीय व्यापारिक गतिविधि र दैनिक जीवनलाई प्रभावित पारेको छ ।
प्रदर्शनकारीहरूले ‘अर्थमन्त्री मुर्दावाद’, ‘व्यापारी एकता जिन्दावाद’, ‘आन्तरिक राजस्व कार्यालय स्थापना गर’, र ‘करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय अविलम्ब फिर्ता गर’ जस्ता नाराहरू लगाएका थिए ।
रौतहट उद्योग वाणिज्य संघका अनुसार, करदाता सेवा कार्यालय खारेजले स्थानीय व्यापारीलाई कर सम्बन्धी सेवा प्राप्त गर्न कठिनाइ हुने र व्यवसायमा नकारात्मक असर पर्ने भएकाले उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।
प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने प्रदर्शन शान्तिपूर्ण रहेको जनाइएको छ । संघले सरकारलाई निर्णय फिर्ता लिन र आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गरेको छ ।






