एजेन्सी । हरियाणाको नुह जिल्लामा एक असामान्य र संवेदनशील घटना सार्वजनिक भएको छ, जसले स्थानीय समुदायलाई चकित बनाएको छ । १७ वर्षीय एक नाबालिग युवक आफ्नी ४० वर्षीया सौतेनी आमासँग घरबाट फरार भएको र विवाह गरेको दाबी गरिएको छ ।
युवकका बुबाका अनुसार, उनकी पहिलो श्रीमतीको निधनपछि उनले दोस्रो विवाह गरेका थिए र पछिल्ला १५ वर्षदेखि दोस्रो श्रीमतीसँग बस्दै आएका थिए । केही महिनाअघि मात्र पहिलो श्रीमतीबाट जन्मिएको छोरा घरमा आएर बस्न थालेको उनी बताउँछन् ।
बुबाको भनाइ अनुसार, छोरा सौतेनी आमालाई आमा भनेर सम्बोधन गर्थ्यो र सम्मानपूर्वक खुट्टा छोएर आशीर्वाद समेत लिने गर्थ्यो । तर, दुवै बीच कुनै किसिमको सम्बन्ध रहेको आशंका परिवार वा गाउँलेलाई पहिले थाहा थिएन ।
केही दिनअघि अचानक दुवै जना घरबाट सम्पर्कविहीन भएपछि खोजीका क्रममा उनीहरू अदालतमा विवाह गरिसकेको जानकारी प्राप्त भएको बुबाले बताएका छन् । बुबाले छोरा नाबालिग भएकाले यस्तो विवाह कानुनी रूपमा अवैध हुने भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
प्रहरीका अनुसार, युवकले अदालतमा आफू वयस्क भएको प्रमाण पेस गरेको दाबी गरिएको छ । उमेर सम्बन्धी कागजातको सत्यता जाँच भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
युवकका बुबाले उजुरीमा उनकी श्रीमतीले घरबाट ३० हजार रुपैयाँ नगद, चाँदीको पाउल, सुनका झुम्का, औँठी र चाँदीको ब्रेसलेट समेत लिएर गएको उल्लेख गरेका छन् । उनले घटनामा संलग्न सबै पक्षमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
प्रहरीका अनुसार, नाबालिग संलग्न घटनामा कानुनी प्रक्रिया अत्यन्त संवेदनशील हुने भएकाले सबै पक्षको बयान, उमेर प्रमाण र परिस्थितिको गहिरो अनुसन्धानपछि मात्र निष्कर्षमा पुगिनेछ ।






