रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई रौतहटबासीले जंगलराज स्वीकार्य नगर्ने चेतावनी दिएका छन् । बुधबार रौतहटको मर्यादपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले जंगलराज स्वीकार गर्न नसकिने बताएका हुन् ।
मंगलबार रौतहटको महम्मदपुरमा आयोजित चुनावी कार्यक्रममा रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरेका थिए । त्यसलाई लिएर आपत्ति जनाउँदै अध्यक्ष साहले अमर्यादित गतिविधि तत्काल नियन्त्रण गर्न स्थानीय प्रशासनलाई आग्रह गरे ।
‘हिजो महम्मदपुरमा हाम्रो चुनावी कार्यक्रममा घण्टी छापको नाममा देखाईएको हर्कत निन्दनीय छ,’ साहले भने, ‘यसको विषयमा म रवि लामिछाने र बालेन शाहसँग सोध्न चाहन्छु- तपाईंहरूको सुशासन यही हो ? अर्काको चुनावी कार्यक्रममा हुलदंगा गर्न भनेर कार्यकर्तालाई निर्देशन दिनुभएको हो र ? यो त जंगलराज होईन र ?’
आफ्नो पार्टीको कार्यक्रममा हुलदंगा गरी सामाजिक उपद्रो गर्ने रास्वपा कार्यकर्तालाई कारबाही नगरेर प्रतिकारमा उत्रिने उनको भनाइ थियो । ‘देशमा कानुनी शासन छ भने तत्काल दोषीलाई कारबाही होस । अन्यथा यहाँका जनताले ती हुलहुज्जत गर्नेहरूलाई प्रतिकार गर्नेछन्,’ साहले भने ।




