सर्लाही । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा भण्डारी कार्कीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेकी छन् ।
“सशक्त किसान, सक्षम महिला, समृद्ध सर्लाही क्षेत्र नं. १” भन्ने मूल नाराका साथ उनले क्षेत्रको सर्वाङ्गीण विकासका लागि १० बुँदे कार्य योजना अघि सारेकी हुन् । सार्वजनिक घोषणा पत्रमा उम्मेदवार कार्कीले राजनीतिलाई केवल आश्वासनको खेल मात्र नभई जनतासँगको “करार सम्झौता”का रूपमा परिभाषित गरेकी छन् ।
उनले आफ्नो कार्यकालमा प्रतिबद्धता पूरा नभए जनताको मूल्यांकन र प्रश्न स्वीकार गर्ने लोकतान्त्रिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । सर्लाहीलाई कृषिको मेरुदण्ड मान्दै कार्कीले किसानको पसिना खेर जान नदिने योजना अघि सारेकी छन् ।
-किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य कार्यान्वयन
-बजारमा बिचौलिया नियन्त्रण
-कृषि उत्पादन संकलन तथा विक्री केन्द्र स्थापना
-आधुनिक कृषि प्रविधिको प्रयोग र वृहत मात्रामा खेती गरी उत्पादन लागत घटाउने नीति
-सहज रुपमा कृषी ऋण, क्षती कमगर्न बीमाको प्रभावकारी कार्यान्वयन, मलको सहज रुपमा उपलव्धता, उन्नत बीउ, नयाँ नयाँ प्रविधिको विस्तारको लागि तालिम
-सिंचाई र खानेपानीको स्थायी व्यवस्थानको लागि चुरेक्षेत्रमा वनपैदावर र मुहान संरक्षणको कार्यलाई व्यवस्थित रुपमा कार्यान्वयनमा ल्याइनेछ । कृषकको पसिना अब घाटामा जाँदैन ।
पर्यटन र सांस्कृतिक पहिचान
क्षेत्र नं. १ मा रहेका नाडिमन ताल र चितायन मन्दिरजस्ता धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति गर्ने उनको योजना छ। ६० बिघामा फैलिएको नाडिमन ताललाई रोजगारीको केन्द्र बनाउने र थारु संस्कृतिको संरक्षणका लागि ‘थारु सांस्कृतिक केन्द्र’ स्थापना गर्ने घोषणा पत्रमा उल्लेख छ। यस्तै, सर्लाहीको माछालाई ब्रान्डिङ गरी भारतीय माछाको एकाधिकार अन्त्य गर्ने उनको संकल्प छ।
स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन
महिला र बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै कार्कीले दक्ष विशेषज्ञ सहितको ‘महिला तथा मातृ स्वास्थ्य केन्द्र’ स्थापना गर्ने बताएकी छन् । शिक्षा क्षेत्रमा सरकारी विद्यालयलाई प्रविधिमैत्री बनाउने, अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने र अपाङ्गता भएका बालबालिकाका लागि विशेष विद्यालयको व्यवस्था गर्ने उनको एजेन्डा छ।
घोषणा पत्र सार्वजनिक गर्दै उम्मेदवार कार्कीले भनिन्, “हामी राजनीति गर्न मात्र होइन, जवाफदेही शासन दिन आएका हौँ। जनआक्रोशलाई अब परिणाममा बदल्ने समय आएको छ।” उनले चुरे क्षेत्रको संरक्षण, व्यवस्थित ढल निकास र युवा स्वरोजगारका लागि स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्ने योजनालाई पनि जोड दिएकी छन् ।




