वीरगन्ज । नियमित रूपमा मल आयात भइरहँदा र जिल्लागत कोटा निर्धारण नहुँदा वीरगन्जमा कृषि सामाग्री कम्पनी लिमिटेडको मल मौज्दात असामान्य रूपमा बढेको छ । कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालय अन्तर्गतका सबै गोदाम भरिएपछि थप आयात भइरहेको मल भण्डारण गर्न समस्या उत्पन्न भएको छ ।
प्रादेशिक कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार प्रदेश कृषि मन्त्रालयले लामो समयदेखि वीरगन्ज नाकाबाट भित्रिएको मलको जिल्लागत कोटा निर्धारण गरेको छैन । “नियमित रूपमा मल भित्रिरहेको छ, तर कोटा अनुसार जिल्लामा पठाउन सकिएको छैन,” उनले भने, “भण्डारण गर्ने ठाउँ अभाव भएपछि भाडाको नयाँ गोदाम खोज्न थालेका छौँ ।”
हाल कम्पनीका आफ्नै चार गोदाम, भुटनदेवीस्थित पाँच, सिजी कम्पनीका दुई, नेशनल ट्रेडिङका दुई र टियारा मोटर्सका पाँच गरी कुल २० गोदाम मलले भरिएका छन् । ती गोदाममा हाल ३५ हजार टन युरिया, ८ हजार टन डिएपी र ८ हजार टन पोटास गरी करिब ४९ हजार टन मल मौज्दात रहेको छ ।
पछिल्लो समय भारतसँगको जिटुजी (सरकार–सरकार) प्रक्रियाबाट ८ हजार ५ सय टन युरिया आयात गरिएको छ । त्यस्तै, सन इन्टरनेसन कम्पनीमार्फत २ हजार ५ सय टन युरिया, भारतको आइपिएल कम्पनीबाट दुई कन्साइन्मेन्टमार्फत १९ हजार टन डिएपी तथा अर्को कन्साइन्मेन्टबाट ६ हजार टन पोटास वीरगन्ज नाका हुँदै भित्रिएको छ ।
पुरानो मौज्दातसहित ठूलो परिमाणमा मल वीरगन्जमै थुप्रिएको अवस्था छ । हाल गहुँबालीका लागि किसानले युरिया र डिएपी प्रयोग गरिसकेकाले माग पनि न्यून रहेको बताइएको छ । प्रदेशस्तरबाट नियमित कोटा निर्धारण नहुनु र मौसमी माग घट्नुले भण्डारण संकट थप चर्किएको कम्पनीको भनाइ छ ।






