धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएपछि त्यसले व्यापक चर्चा पाएको छ ।
कैलाली २ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका १ बसपार्क नजिक रहेको घर ऐलानी (सार्वजनिक) जग्गामा बनेको भन्ने दाबी सामाजिक सञ्जालमार्फत बाहिरिएको हो । यससँगै उनीविरुद्ध आलोचना र प्रश्नहरू उठ्न थालेका छन् ।
यतिबेला सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सार्वजनिक तथा अतिक्रमित जग्गामा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिरहेको सन्दर्भमा, खनालको घर सम्बन्धी विषय झन् चर्किएको छ ।
सामाजिक सञ्जालमा केहीले अन्यत्र जस्तै यहाँ पनि डोजर प्रयोग गरेर संरचना हटाउनुपर्ने माग गरेका छन् । यस विषयमा प्रतिक्रिया दिँदै सांसद खनालले आरोपहरू अस्वीकार गर्दै सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेका छन् । उनले आफ्ना आलोचकलाई लक्षित गर्दै भ्रम फैलाउन खोजिएको दाबी गरेका छन् ।
खनालले व्यंग्यात्मक शैलीमा सरकारको आलोचना गर्नेहरूलाई ‘आफ्नो घरमा बस्न आउन’ समेत भनेका छन् । साथै, उनले विगतमा सत्ता र स्रोतको दुरुपयोग गर्नेहरूप्रति संकेत गर्दै अब उनीहरू असहज भएको टिप्पणी गरेका छन् ।
यद्यपि, ऐलानी जग्गामा निर्माण भएको भनिएको घरबारे आधिकारिक निकायबाट हालसम्म कुनै औपचारिक पुष्टि वा कारबाही प्रक्रिया अघि बढेको छैन ।






