काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरूले विशेष चासोका साथ कभर गरेका छन् ।
भ्रमणको औपचारिक मिति निश्चित भइनसकेको भएपनि विभिन्न भारतीय मिडियाले यसलाई सम्भावित उच्च राजनीतिक महत्वको भेटका रूपमा विश्लेषण गरेका छन् ।
भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणले लामिछानेको भ्रमणलाई नेपाल–भारत सम्बन्धको दृष्टिकोणबाट महत्वपूर्ण भन्दै विस्तृत समाचार प्रकाशित गरेको छ ।
उक्त समाचारमा नेपालमा हालको राजनीतिक समीकरण र रास्वपाको भूमिकाबारे चर्चा गर्दै भ्रमणलाई रणनीतिक रूपमा अर्थपूर्ण बताइएको छ ।
समाचारमा नेपाल–भारतबीच पछिल्लो समय उच्चस्तरीय औपचारिक भ्रमणहरू अपेक्षाकृत कम भएको सन्दर्भ उल्लेख गर्दै लामिछानेको भारत यात्रा कूटनीतिक दृष्टिले महत्वपूर्ण हुन सक्ने दाबी गरिएको छ ।
साथै सीमा विवाद, व्यापारिक मुद्दा र लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयहरूले दुई देशबीचको सम्बन्धमा प्रभाव पारेको पनि उल्लेख गरिएको छ ।
त्यस्तै, अमर उजालाको अनलाइन संस्करणले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उनले भारतमा उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूसँग भेटवार्ता गर्न सक्ने सम्भावना औँल्याएको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वसँग समेत छलफल हुन सक्ने अनुमान उक्त रिपोर्टमा गरिएको छ ।
यता, हिन्दुस्थान समाचार एजेन्सीले पनि यस विषयमा रिपोर्ट प्रकाशित गर्दै भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन सक्ने सम्भावनाबारे चर्चा गरेको छ । यद्यपि यस विषयमा कुनै पनि आधिकारिक पुष्टि भने गरिएको छैन ।
भारतीय मिडियामा आएको यी समाचारहरूले लामिछानेको प्रस्तावित भारत भ्रमणलाई क्षेत्रीय कूटनीति, राजनीतिक संवाद र नेपाल–भारत सम्बन्धको सन्दर्भमा महत्वपूर्ण घटनाका रूपमा प्रस्तुत गरेका छन् ।






