काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउँदै ‘नेपाली हिटलर’को रुपमा टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले सरकारले दिएका आश्वासन पूरा नहुँदा जनतामा निराशा छाएको बताए । ‘बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन्,’ ठाकुरले भने ।
सरकारका क्रियाकलापले व्यवसायी पलायन हुँदै गएको उल्लेख गर्दै यसले अर्थतन्त्र कमजोर हुने बताएका छन् । ‘दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ,’ उनले भने ।
यस्तै, सरकारका कामकारबाहीले शिक्षा र स्वास्थ्य क्षेत्र पनि अप्ठ्यारोमा परिरहेको उल्लेख गरे । निजी क्षेत्रलाई पनि सँगसँगै लग्नुपर्नेमा जोड दिए । तर, सरकार उल्टो बाटो हिडेको उनको भनाइ थियो । ‘सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन । नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ,’ उनले भने ।
ट्रेड युनियन र विद्यार्थी संगठन खारेजको पनि उनले विरोध गरे । ‘यो सरकारले ट्रेड युनियन, विद्यार्थी सङ्गठनलाई खारेज गरेको छ । यस किसिमले प्रत्येक संस्था जो अर्गनाइज संस्था छ, त्यो अर्गनाइजेसनलाई त उनले हेर्नै चाहँदैन,’ ठाकुरले प्रश्न गरे, ‘अर्गनाइजेसनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो ?’
अहिलेसम्म सरकार र प्रधानमन्त्री शाहका क्रियाकलाप तानाशाहतर्फ गइरहेको बताए । ‘नेपाली डिक्टेटर, नेपाली हिटलर । नेपाली हिटलर भइसकेको छ,’ ठाकुरले भने ।
प्रधानमन्त्री शाहका क्रियाकलापले देशलाई धरासायी बनाउँदै लगेको उनको टिप्पणी थियो । ‘उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानुन हो । यसप्रकार चाहिँ देशलाई धरातलमा लागिरहेको छ,’ ठाकुरले भने ।






