काठमाडौं । जेन-जेड आन्दोलनका नेता रवि किरण हमालले पूर्वी तराईमा विकसित हुँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल सक्षम नेतृत्वमार्फत सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गरेका छन् ।
उनले पूर्वी तराईको अवस्था नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिन थालेको दाबी गर्दै सरकार परिस्थितिप्रति आवश्यक गम्भीरता नदेखाएको आरोप लगाए । उनका अनुसार देशको आन्तरिक सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिहरूमा अनुभव, दूरदृष्टि र संकट व्यवस्थापन क्षमता स्पष्ट रूपमा देखिन नसकेको अवस्था छ ।
हमालले अयोग्य र कमजोर नेतृत्वका कारण देश अस्थिरता र गम्भीर सुरक्षा संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै सरकार समयमै नजागे त्यसको सम्पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने बताए । “त्यतिबेलासम्म अवस्था भयावह भइसकेको हुन सक्छ,” उनले उल्लेख गरेका छन् ।
उनले तत्काल सर्वपक्षीय तथा सर्वदलीय राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै गृह मन्त्रालय र रक्षा मन्त्रालयको नेतृत्व सक्षम, अनुभवी र परिणाममुखी व्यक्तिलाई सुम्पिन आग्रह गरेका छन् । आवश्यक परे संसद बाहिरबाट समेत योग्य व्यक्तिलाई नियुक्त गरेर राष्ट्रिय सुरक्षा सुदृढ बनाउनुपर्ने उनको धारणा छ ।
“राष्ट्रको सुरक्षा कुनै राजनीतिक भागबण्डा गर्ने विषय होइन, न त अनुभवहीन व्यक्तिको अभ्यास गर्ने थलो हो,” हमालले भनेका छन् । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सक्षम नेतृत्व, स्पष्ट रणनीति र प्रभावकारी निर्णय आवश्यक रहेको उनको भनाइ छ ।
सरकारले समयमै आवश्यक राजनीतिक निर्णय लिन नसके इतिहासले वर्तमान नेतृत्वको लापरवाहीलाई क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन् ।






