काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरीलगायत कोशी क्षेत्र तथा तराईका विभिन्न भूभागमा देखिएको आपसी द्वन्द्व र अशान्तिप्रति गहिरो दु:ख व्यक्त गर्दै सद्भाव सन्देश जारी गरेका छन् ।
निर्मल निवासस्थित उनको सचिवालयद्वारा जारी सन्देशमा उनले नेपाल निर्माणको सुरुआती कालदेखि नै नेपालीहरू परस्पर मिलिजुली, हाँसीखुसी तथा आपसी प्रेम, सद्भाव र सहकार्यका साथ बसोबास गर्दै आएको स्मरण गराएका छन् ।
सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएपनि सबै समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा र रीतिरिवाजअनुसार आस्था र मान्यता कायम राख्दै आएको उल्लेख गरिएको छ ।
यही विशिष्ट धार्मिक, सांस्कृतिक तथा सामाजिक विशेषताका कारण विश्व समुदायमा नेपालको सम्मान र पहिचान स्थापित भएको भन्दै उनले यस गौरवपूर्ण विशेषतालाई कुनै पनि अवस्थामा कमजोर हुन नदिनुपर्नेमा जोड दिएका छन् ।
पूर्वराजा शाहले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका विभिन्न भूभागसम्म फैलिँदा जनजीवन प्रभावित भएको खबरले आफू अत्यन्त दु:खी भएको बताएका छन् ।
नेपाल समाजका सबै समुदायबीच सद्भाव, सहिष्णुता र सामञ्जस्य कायम रहेको देशका रूपमा परिचित रहेकाले यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताजनक र हाम्रो मौलिक मूल्य मान्यता विपरीत भएको उनले उल्लेख गरेका छन् ।
सन्देशको अन्त्यमा उनले देशको जुनसुकै भूभागमा रहे पनि सबै नेपाली मिलेर बस्नु नै आजको आवश्यकता रहेको उल्लेख गर्दै संयम, आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैमा आह्वान गरेका छन् ।






