काठमाडौं । तराई-मधेस केन्द्रित चार राजनीतिक दलले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएकाहरूलाई तत्काल शहीद घोषणा गर्न र पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन् ।
चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता कार्यान्वयनमा सरकारले ढिलाइ गर्दा पीडित परिवारको पीडा र जनआक्रोश बढ्दै गएको बताएका छन् । उनीहरूले सरकारले समयमै समस्या समाधान नगरे अवस्था थप गम्भीर बन्न सक्ने चेतावनी समेत दिएका छन् ।
विज्ञप्तिअनुसार सरकारले पीडित परिवारसँग गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने र सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको थियो ।
तर सम्झौता भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय नहुनु सरकारको गैरजिम्मेवारी र पीडितप्रतिको असंवेदनशीलता भएको चार दलको आरोप छ ।
कप्तानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको शव एक सातादेखि अन्त्येष्टि हुन नसकेको विषयमा पनि चार दलले आपत्ति जनाएका छन् ।
मेहताको गत १९ साउनमा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो । सरकारसँग सहमति नजुट्दा उनको शव अझै पनि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
चार दलले यसरी शव अन्त्येष्टि हुन नसक्दा मृतकका परिवारजनले सम्मानपूर्वक अन्तिम संस्कार गर्न पाउने अधिकारसमेत प्रभावित भएको बताएका छन् । उनीहरूले पीडित परिवारको धैर्यको थप परीक्षा नलिन सरकारलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता, सिरहाको गोलबजार घटनामा मृत्यु भएका गणेश यादव तथा उपचारका क्रममा निधन भएका रविन्द्र मेहतालाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ ।
त्यस्तै, पीडित परिवारसँग भएको सम्झौताअनुसार क्षतिपूर्ति, राहत र रोजगारीको व्यवस्था तुरुन्त गर्न सरकारसँग माग गरिएको छ । चार दलले सरकारले तत्काल न्यायपूर्ण समाधान नखोजे शान्तिपूर्ण र सशक्त लोकतान्त्रिक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।






