सर्लाही । चाडपर्व नजिकिँदै गर्दा सर्लाहीका बजारमा खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा बढ्न थालेको छ । बाढी पहिरोजस्ता विपद्का कारण सरकारी संयन्त्र राहत तथा उद्धारमा केन्द्रित भइरहेका बेला बजारमा भने दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि सर्वसाधारण उपभोक्ता थप मारमा परेका छन् ।
पछिल्लो समय सर्लाहीमा चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताएका छन् । चिनी मात्र नभई खाने तेल, चामललगायत विभिन्न खाद्यवस्तुको मूल्य समेत बढेको उनीहरूको गुनासो छ ।
सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट खाद्यान्न ल्याउन कडाइ गरिएको मौका छोपेर नेपाली बजारमा व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको आरोप छ । पर्सा गाउँपालिका २ सङ्ग्रामपुरका सेख जमसैदले भारतीय बजारबाट खाद्यान्न ल्याउन प्रहरीले कडाइ गरेपछि नेपाली बजारमा चिनी, तेल, चामललगायतका वस्तुको मूल्य निरन्तर बढिरहेको बताए ।
उनका अनुसार सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट सामान ल्याउन समस्या भएपछि स्थानीय उपभोक्ता नेपाली बजारमै निर्भर हुनुपरेको छ । यही अवस्थाको फाइदा उठाउँदै केही व्यापारीले खाद्यान्नको मूल्य बढाएको उपभोक्ताको गुनासो छ । मलङ्गवा, हरिवन, बरहथवा, बयलवास र लालबन्दीलगायत जिल्लाका प्रमुख बजारमा चाडपर्वको मुखमा खाद्यवस्तुको मूल्य बढ्न थालेको स्थानीयले बताएका छन् ।
ईश्वरपुर नगरपालिका ७ बयलवासका रामनरेश महतोका अनुसार भोटेकोशी बाढीपछि चीनतर्फको नाका बन्द हुनु तथा भारतबाट सामान ल्याउन केही महिनादेखि नै कडाइ हुनुजस्ता कारण देखाउँदै व्यापारीले वस्तुको मूल्य बढाउन थालेका छन् ।
“नाका र आयातमा समस्या भएको बहाना बनाएर बजारमा लगभग सबै वस्तुको मूल्य बढाइएको छ,” महतोले भने । चाडपर्वको समय नजिकिँदै जाँदा मूल्य अझ बढ्ने हो कि भन्ने चिन्ता उपभोक्तामा देखिएको छ ।
लालबन्दी नगरपालिका ६ जनवादी चोकका राजन पोखरेलले केही समययता ग्यासको अभाव क्रमश: कम हुँदै गएपनि खाद्यान्नको मूल्य बढ्दा न्यून आय भएका परिवारलाई दैनिक खर्च धान्न समस्या हुन थालेको बताए । उनका अनुसार बजार क्षेत्रमा मात्रै नभई ग्रामीण भेगका पसलमा समेत खाद्यान्नको मूल्य बढेको छ ।
चाडपर्व लक्षित बजार अनुगमनको तयारी
बजारमा खाद्यान्नको मूल्य बढेको गुनासो आएपछि स्थानीय प्रशासनले चाडपर्व लक्षित बजार अनुगमन गर्ने तयारी थालेको जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनको तयारी भइरहेको जानकारी दिए ।
उनले अहिले विपद्को अवस्था रहेकाले यही समयको फाइदा उठाउँदै कसैले कालोबजारी गर्ने वा अस्वाभाविक मूल्य असुल्ने गरेको पाइए प्रशासनलाई जानकारी गराउन उपभोक्तासँग आग्रह गरेका छन् । उनका अनुसार कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धिबारे सूचना प्राप्त भए तत्काल अनुगमन टोली परिचालन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ ।
विपद्का बेला नागरिकलाई सहयोग र राहत आवश्यक भइरहेका अवस्थामा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अस्वाभाविक रूपमा मूल्य बढाउने काम नगर्न स्थानीय प्रशासनले व्यापारी, उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा प्रशासनको अनुगमन र व्यापारीको जिम्मेवार व्यवहार दुवै आवश्यक देखिएको छ ।




