वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विशेष अदालतबाट सफाइ पाएपछि पुन: आफ्नो पदमा बहाल भएका छन् । अदालतको फैसलासँगै सिंहलाई नगर प्रमुखको जिम्मेवारीमा पुन: बहाली गरिएको हो ।
विशेष अदालतले सिंहविरुद्ध चलेको मुद्दामा सफाइ दिएपछि केही समयदेखि महानगरपालिकाको नेतृत्वलाई लिएर देखिएको अन्योलसमेत अन्त्य भएको छ । सिंह पुन: पदमा फर्किएसँगै उनका समर्थक, शुभेच्छुक तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन् ।
सिंहका समर्थकहरूले अदालतको फैसलालाई ‘न्यायको जित’ का रूपमा स्वागत गरेका छन् । उनीहरूले ‘न्याय मरेको छैन, सत्यको जित भएको छ’ भन्दै फैसलाप्रति खुसी व्यक्त गरेका छन् । सिंहको पुन: बहालीसँगै वीरगञ्ज महानगरपालिकाको विकास निर्माण, सेवा प्रवाह तथा जनअपेक्षाअनुसारका कामले गति लिने अपेक्षा गरिएको छ ।
यसअघि अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता बनाएको आरोपमा सिंहविरुद्ध मुद्दा चलेको थियो । उक्त मुद्दामा विशेष अदालतले सफाइ दिएपछि उनी पुन: नगर प्रमुखको जिम्मेवारीमा फर्किएका हुन् ।




