पर्सा । पर्साको धोबिनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभाले उक्त बजेटसँगै पाँचवटै वडाको विकास बजेट समेत सर्वसम्मत स्वीकृत गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार यादवका अनुसार गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभाले चालु आर्थिक वर्षको बजेट पारित गरेको हो । गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले गरेका थिए । उपाध्यक्ष मञ्जुदेवीको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत यादवले सभामा बजेट प्रस्तुत गरेका थिए ।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष चौहानले स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । राजनीतिक समस्याका कारण गाउँसभा सञ्चालनमा ढिलाइ भएको उल्लेख गर्दै उनले ढिलाइ भएपनि सभा व्यवस्थित रूपमा सम्पन्न भएको प्रतिक्रिया दिए ।
गाउँसभा ढिलो हुँदा विकास निर्माणका काम तथा सर्वसाधारणका दैनिक कामकाजमा समेत असर परेको उनले बताए । अब गाउँसभा सम्पन्न भएसँगै विकास निर्माणका योजनालाई तीव्रता दिने र नागरिकलाई छिटो छरितो तथा प्रभावकारी सेवा उपलब्ध गराउने अध्यक्ष चौहानले प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत यादवले धोबिनी गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्न आफूले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए ।
अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जुदेवी, वडाध्यक्षहरू, कार्यपालिका तथा गाउँसभा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख जितेन्द्रप्रसाद चौहानले गरेका थिए ।




