सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनामा रुखको हाँगा काट्ने क्रममा विद्युत्को नाङ्गो तारमा छोइएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मृत्यु हुनेमा स्थानीय झमेलिया सदाका ३५ वर्षीय छोरा दिपु सदा रहेका छन् । रुखको हाँगा काट्ने क्रममा विद्युत्को तारमा सम्पर्क भएपछि करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा शम्भुनाथ नगरपालिका ७ निवासी बौका सदाका २६ वर्षीय छोरा उपेन सदा घाइते भएका छन् । उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सफेदाको रुखको हाँगा काट्ने क्रममा दुवै जना नाङ्गो विद्युत् तारको सम्पर्कमा आएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका दिपु सदाको घटनास्थलमै मृत्यु भएको हो भने उपेनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइते उपेनको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




