कपिलवस्तु । कपिलवस्तुमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । सोमबार साँझ करिब ४:५५ बजे कपिलवस्तु नगरपालिका ६ स्थित थुनुवा चोकमा रहेको जितपुर–तौलिहवा सडकखण्डमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार ओदारीबाट तौलिहवातर्फ आउँदै गरेको लु १ ख ८६४३ नम्बरको स्काई लार्क बोर्डिङ स्कुलको बसले थुमुवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय ६५ वर्षीय मुस्तकीन मुसलमान गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्याइए पनि चिकित्सकले साँझ ५:१५ बजे मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक ५५ वर्षीय मजर हुसेन पनि दुर्घटनामा घाइते भएका छन् । उनको टाउको, दुवै हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भैरहवा रिफर गरिएको छ ।
दुर्घटनापछि प्रहरीले बस, मोटरसाइकल र बस चालक बाणगंगा नगरपालिका ११ निवासी ३१ वर्षीय गोविन्द थारुलाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




