बुटवल । रूपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको निर्मम हत्या गरी कानमा लगाएको सुन लुटपाट गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
कात्तिक १२ गते दिउँसो कोटहीमाई गाउँपालिका ६ र ७ को बीचमा पर्ने धानखेतमा स्थानीय ४१ वर्षीया जुबेदा खातुन धोबी मृत अवस्थामा फेला परेकी थिइन् । छोट्की मजगाँव निवासी धोबीको टाउकोमा कोदालोको बिँडले प्रहार गरिएको र घाँटीमा हँसियाले प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्यापछि उनको कानमा रहेका सुनका गहना समेत लुटेर लगिएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले कोटहीमाई गाउँपालिका ६ का ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोदकुमार कुर्मी, २६ वर्षीय मन्जे हरिजन र ३५ वर्षीय धर्मराज यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले २०८३ साल कार्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन प्रहरीलाई म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही, भैरहवाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




