रौतहट । चुनावका बेला विकासका आश्वासन बाँड्ने तर निर्वाचित भएपछि जनअपेक्षाअनुसार काम गर्न नसक्ने जनप्रतिनिधिको आलोचना भइरहेका बेला रौतहट क्षेत्र नम्बर ४ (क) मा भने विकास निर्माणका योजनाले गति लिएका छन् ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई (समीर) को पहलमा चन्द्रपुर र वृन्दावन नगरपालिकाका विभिन्न वडामा ७० भन्दा बढी विकास योजना सञ्चालन तथा सम्पन्न भएका छन् ।
माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेतासमेत रहेका भट्टराईले सडक पूर्वाधार, सिँचाइ, खानेपानी, तटबन्ध, शिक्षा तथा धार्मिक र सामुदायिक संरचना निर्माणलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाएका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित क्यान्टिन बजारमा एक करोड १० लाख रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको छ । चाँदी नदीको बाढीबाट वर्षौंदेखि प्रभावित हुँदै आएको बस्तीलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त तटबन्धबाट स्थानीयवासीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ ।
सोही वडामा जनताको आधारभूत विद्यालयको पक्की भवन, बलेरीस्थित प्रणामी मन्दिरमा विवाह भवन, डोबानटोलमा सडक ढलान तथा टेकान टोलमा तटबन्ध निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा फुलबारी नयाँ बस्ती र अनर्वा सडक कालोपत्रे गरिएको छ ।
असनवामा सिँचाइ कुलो, चिमनीटोलमा सडक ढलान र कल्भर्ट निर्माणका साथै विवाह भवन तथा मन्दिर निर्माण गरिएको छ । वडा नम्बर ३ मा सिँचाइ कुलो, प्रणामी मन्दिर निर्माणसँगै भोलनटार र अरुण बस्तीमा सडक कालोपत्रे तथा ढलान गरिएको छ ।
त्यस्तै, वडा नम्बर ४ मा सडक कालोपत्रे, पैनिटोलमा सडक ढलान र योगा भवन निर्माण गरिएको छ । वडा नम्बर ५ मा ओमशान्ति भवन, किरियापुत्री भवन, नाला तथा सडक निर्माण भएका छन् ।
वडा नम्बर ६ मा गुम्बा र नाला निर्माण गरिएको छ भने वडा नम्बर ७ मा नागिनटोलमा सिँचाइ कुलो, नयाँ बस्तीमा नालासहित सडक कालोपत्रे तथा मदरसा परिसरमा पर्खाल निर्माण गरिएको छ ।
वडा नम्बर ८ मा विद्यालय भवन, शिवमन्दिर, सडक ढलान तथा सिँचाइ व्यवस्थापनका काम भएका छन् । यसबाट करिब १०० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
त्यसैगरी, वडा नम्बर ९ मा चेतनगरको सडक कालोपत्रे तथा भुसहामा आवास र मस्जिद निर्माण गरिएको छ । वडा नम्बर १० मा बरेडवा–बालचनपुर सडक, तटबन्ध तथा आवास निर्माणका साथै बलुवामा सडक ढलान र श्रीनगरमा नाला निर्माण गरिएको छ ।
चन्द्रपुरसँगै वृन्दावन नगरपालिकामा पनि सडक, खानेपानी तथा सामुदायिक पूर्वाधार निर्माणका योजनाले गति लिएका छन् । वडा नम्बर १ मा चाँदी पुलनजिक मन्दिर, छठघाट र ब्रह्मबाबा मन्दिर निर्माणका साथै सडक ढलान गरिएको छ ।
वडा नम्बर २ मा विवाह भवन र मण्डप निर्माण गरिएको छ भने एक करोड ११ लाख रुपैयाँको लागतमा खानेपानी ट्यांकी निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ । वडा नम्बर ३ मा रामटोल र पूर्वारीटोलमा सडक ढलान तथा कृषि सडक निर्माण गरिएको छ ।
वडा नम्बर ४ मा योगा भवन र रमजानकी मन्दिर निर्माण भएका छन् । त्यस्तै, वडा नम्बर ७ को सखुबाबा धमौरास्थित मदरसा इस्लामिया फैजुल उलुमको विद्यालय परिसरमा पर्खाल निर्माण गरिएको छ ।
यस क्षेत्रको अर्को महत्वपूर्ण आयोजना विश्रामपुर, बेनौली, करकटिया र हरदियामा नालासहित सडक कालोपत्रे गर्ने योजना हो । उक्त आयोजनाको लागत १२ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
सञ्चालित तथा सम्पन्न योजनाहरूको प्रकृति हेर्दा भट्टराईले ग्रामीण सडक विस्तारसँगै बाढी नियन्त्रण, कृषि सिँचाइ, खानेपानी, शिक्षा तथा सामुदायिक पूर्वाधारलाई प्राथमिकता दिएको देखिन्छ ।
गाउँ गाउँमा सडक, तटबन्ध, विद्यालय भवन, खानेपानी र सिँचाइका संरचना निर्माण हुन थालेपछि स्थानीयस्तरमा पूर्वाधार विकासका कामले गति लिएको देखिएको छ । यद्यपि, विकास निर्माणका कामको संख्या र लगानीसँगै तिनको गुणस्तर, दिगोपना तथा स्थानीयवासीले प्राप्त गरेको वास्तविक लाभको मूल्यांकन पनि उत्तिकै आवश्यक छ ।
भट्टराईले पहिलो चरणमा आफ्नो क्षमताले भ्याएसम्म निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अघि बढाएको बताउँदै क्षेत्रवासीले पुन: अवसर दिएमा विकासका काममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।




