एजेन्सी । वार्मलीको साउथ ग्लास्टरशायरमा बस्ने जेम्स क्लार्क नामका ३१ वर्षीय पुरुषले आफ्नो ३९ दिनका नवजात छोरा सीन क्लार्कमाथि क्रूर हमला गरेका छन् । उनको आक्रमणबाट नवजात शिशुको शरीरकाे ७१ वटा हड्डी भाँच्चियाे र सोही चोटका कारण शिशुको मृत्यु भयो ।
आफ्नै बुवाको आक्रमणबाट ती नवजात छोराको शरीरका दर्जनौं हड्डी भाँचिएकाे थियाे भने जिउमा गहिरो चोट लागेको र मस्तिष्कमा पनि रक्तश्राव भएको थियो । रातको समयमा आफ्नै बाबुको आक्रमणमा परेका नवजात छोरालाई अर्को बिहान उनकी आमाले मृत अवस्थामा फेला पारेकी थिइन् । पोष्टमार्टममा शिशुमाथि कम्तीमा तीन पटक कडा प्रहार भएको र सोही कारण शरीरका कैयौं हड्डी भाँचिएको खुलेको थियो ।
शिशुको छाती त कच्याककुचुक भएको थियो । त्यस्तै टाउकोमा चोट लागेर मस्तिष्कमा रक्तश्राव भएसँगै उनको मृत्यु भयो । शिशुको शरीरमा रहेका कतिपय चोटहरु पुरानो समेत रहेका हुँदा क्लार्कले छोरामाथि पहिलेदेखि नै आक्रमण गर्ने गरेको खुलासा भएको छ ।
सन् २०१८ मा भएको यो घटनाको मुद्दाको सुनुवाइ गर्दै ब्रिस्टोल क्राउन कोर्टले ती निर्दयी बाबुलाई जन्मकैदको सजाय सुनाएको छ । शिशु हत्याको अभियोगमा दोषी ठहर भएसँगै अब क्लार्कले कम्तीमा १५ वर्ष जेलमा बस्नुपर्नेछ ।






