काठमाडौं । लखीमपुर खीरी जाँदै गर्दा कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले आज (सोमबार) बिहान करिब साढे पाँच बजे सीतापुरबाट पक्राउ गर्यो । उनी पक्राउ परेपछि उनका भाइ राहुल गान्धीले ट्वीट गर्दै प्रियंकाको हिम्मतले सरकार डराएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘प्रियंका, मलाई थाहा छ तिमी पछि हट्ने छैनौ । तिम्रो हिम्मत देखेर उनीहरु डराएका छन् । न्यायको यस अहिंस्रक लडाईँमा हामी देशको अन्नदातालाई जिताएरै छोड्नेछौँ ।’
यता बीजेपी सांसद वरुण गान्धीले ट्वीट गर्दै यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखीमपुर हिंसा घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । उनले यूपीका मुख्यमन्त्रीलाई लेखिएको एक पत्र ट्वीट गर्दै भनेका छन्, ‘लखीमपुर खीरीको हृदयविदारक घटनामा शहिद भएका किसानप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई पक्राउ गरेकाे हो ।गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए ।
प्रहरीले गान्धीलाई पक्राउ गर्नका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार गान्धीलाई मन्दिर मार्गस्थित प्रहरी चौकीमा आधा घण्टा हिरासतमा राखेर पछि छाडिएको थियो ।
भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरुलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीन जनाको मृत्यु भएको दाबी गरिएको छ । यद्यपि प्रहरी प्रशासनले केही व्यक्ति घाइते भएको भने पनि मृत्युको पुष्टि गरेको छैन ।






