एजेन्सी । क्यानडाको एक घरमा अन्तरिक्षबाट उल्कापिण्ड खसेको छ । रूथ हैमिल्टनको घरको छत भत्काएर उनी बसिरहेको ओछ्यानमा राति उल्कापिण्ड खसेको हो । उनी बसिरहेको केही इन्च परको दुरीमा यो खसेको हो । त्यसले धेरै क्षति त गरेन, तर त्यस समय महिला निकै डराएकी थिइन् ।
डेली मेलको रिपोर्ट अनुसार रुच आफ्नो ओछ्यानमा सुतिरहेकी थिइन् । त्यसै समय अचानक उनको ओछ्यानमा केही चिज झरेको ठुलो आवाज सुनियो, जुन सुनेर उनी तर्सिइन् । यो घटना ४ अक्टोबरको रातको हो ।
हेमिल्टनले एक न्युज च्यानलमा बताए अनुसार घटनापछि उनले लाइट बालिन् । सिरानीमाथि उल्कापिण्ड झरेको उनले देखिन् । माथि घरको छत पनि प्वाल परेको थियो । सौभाग्यवस् उनी यो घटनाबाट बाँचिन् ।
घटनापछि केही मानिसहरुले त्यो रात अन्तरिक्षबाट एक चम्किलो उज्यालो झर्दै गरेको देखेका थिए । साथै त्यो भन्दा एक रात पहिले पनि मानिसहरुले उल्कापिण्ड झर्दै गरेको देखेको दाबी गरेका थिए । हेमिल्टनका अनुसार सुरुमा उनलाई थाहा थिएन कि उनको ओछ्यानमा खसेको चिज उल्कापिण्ड हो । थाहा पाएपछि उनी चकित परिन् । अहिले उनले त्यसलाई सम्हालेर सुरक्षित साथ राखेकी छिन् ।






