एजेन्सी । बेलायतमा दुलहालाई दुलहीको हत्या गरेको आरोप लागेको छ । बिहे भएको चार दिन नबित्दै बेहुलीको सुटकेसमा शव फेला परेपछि तरंग मच्चिएको थियो । यस घटनामा प्रहरीले दुलहीका श्रीमानलाई पक्राउ गरेको छ । के हाे घटना, बुझौँ…।
‘द सन युके’ का अनुसार ५२ वर्षीया महिला डन वाकर र ४५ वर्षीय थोमस नटले बुधबार विवाह गरेका हुन् । तर विवाहको चार दिनपछि वाकरको शव खेतमा भेटिएको थियो । डन वाकरको शव गाडिएकाे अवस्थामा सुटकेस भित्रबाट भेटिएको हाे । उनको घाँटी थिचेर हत्या गरिएको बताइएको छ ।
विवाहमा आएका पाहुनाले सन् २०२० को जनवरीमा इन्गेजमेन्ट गरेपछि महिनौँदेखि विवाहको योजना बनाएको बताए । उनीहरूले गत बुधबार रजिस्ट्री अफिसमा विवाह गरे, जसमा दुबैका आफन्त र साथीहरू उपस्थित थिए । वाकरको अघिल्लो सम्बन्धबाट दुई बच्चाहरू थिए ।
एक पाहुनाले भने, ‘वाकर र थोमस दुवैले एकअर्कालाई धेरै माया गर्थे, म विश्वास गर्न सक्दिनँ कि अचानक के भयो ।’ सोही क्रममा वाकरकी ४९ वर्षीया बहिनी लिसा वाकरले भनिन्– ‘मेरो मुटु टुटेको छ ।’
वेस्ट योर्कशायर प्रहरीका प्रवक्ताले भने, ‘हामीले पुष्टि गर्छौं कि ह्यालिफ्याक्समा एक महिलाको शव फेला परेको छ । हत्याको आशंकामा ४५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । अहिले छानबिन चलिरहेको छ ।’






